महेन्द्रनगर, ६ कार्तिक । बाढीले क्षति पुर्याएको झण्डै तीनसाता बितिसक्दा समेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले क्षतिको विवरण संकलन गर्न सकेको छैन ।
दैविक प्रकोप उद्वार समितिको निर्णय अनुसार बाढी लगत्तै गठन गरिएको क्षति विवरण संकलन टोलीको ढिलासुस्तीका कारण क्षतिको विवरण आउन नसकेको हो । समितिका संयोजक वरिष्ठ कृषि अधिकृत लक्ष्मीदत्त पन्तले हालसम्म दुइ गाविस र नगरपालिकाको ११ वडाहरुको क्षतिको विवरण संकलन गरेको बताउनुभयो । उहाँले दोधारा-चाँदनी गाविसको मात्रै विवरण संकलन गरिएको जानकारी दिनुभयो । संयोजक पन्तले दिनुभएको जानकारी अनुसार जिल्ला भरीको क्षतिको विवरण संकलन गर्न एकसाता जति अझै लाग्ने छ । पाँचवटा टोली जिल्लाभरी क्षतिको विवरण संकलनका लागी खटिएका छन । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत केशवराज जोशीले टोलीले क्षतिको विवरण पेश नगरेसम्म राहत वितरण नगरिने बताउनुभयो । बाढीबाट भएको क्षतिको विवरण संकलनमा ढिलाई भएका कारण जिल्लामा बाढीबाट प्रभावित भएकाहरुले अझै राहत पाउन सकेका छैनन ।
Old News



