डोटी, १२ भदौ । जथाभावी खोटो संकलन गर्नाले डोटी जिल्लामा सल्लाका रुखहरु भटाभट सुक्न थालेका छन् । यसरी रुखहरु सुक्दै जाँदा वनहरु उजाड हुनुका साथै बाढी, पहिरो तथा भूक्षयको खतरा पनि बढेको छ ।
३० इन्च सम्म गोलाइ भएका सल्लाका रुखहरुमा खोटो संकलन गर्ने सम्झौता भएपनि ठेकेदारहरुले बदमासी गरी सम्झौता विपरित साना रुखहरुमा एसिड प्रयोग गरेर खोटो निकाल्ने गरेका कारण रुखहरु सुक्ने गरेको वनका कर्मचारीहरु बताउछन् । रुखमा एसिड प्रयोग गर्ने नयाँ प्रविधि आएपछि रुखहरु बढी सुक्ने गरेको जोरायल रेञ्जपोष्टका रेञ्जर सुरेस डिसीले बताउनुभयो । खोटो संकलन गरेकै कारण ४/५ वर्षा रुखहरु सुक्न थालेका छन् । त्यसको प्रमुख कारण सल्लाका घाउमा आवश्यकता भन्दा बढी एसिड प्रयोग गरेर हो रेञ्जर डिसीले भन्नुभयो ।त्यस्तै एकै पटक बढी खोटो झिक्नाले घाऊ पाकेर रुख चाडो सुक्ने गरेको जिल्ला कार्यालय डोटीका कर्मचारी इन्द्र देव भट्टले बताउनु भयो । डोटी जिल्लाका ७० प्रतिशत सल्लाका रुखहरु जथाभावी खोटो संकलन गर्नाले सुक्ने गरेको वन उपभोक्ता महासंघ डोटीले जनाएको छ ।
हाल डाटीमा भद्रकाली रोजिन कम्पनी र दिव्या रोजिन कम्पनीले खोटो संकलन गर्ने सम्झौता गरेका छन् । वनका कर्मचारीले ठेकेदारलाई दोष दिएपनि उपभोक्तहरुले रुखहरु सुक्दै जानुमा वन कार्यालयको कमजोरी रहेको बताएका छन् ।
Old News



