महामारीको भयाबहको स्थिति आउन नदिन सरकारद्धारा उच्च सतर्कता
Tuesday, 09 March 2010 06:05
Tek Raj joshi
नेपालगंज, २५ फागुन । स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले बिकट क्षेत्रमा बिगतको जस्तो महामारीको भयाबहको स्थिति आउन नदिन सरकारले उच्च सतर्कता अपनाएको बताउनु भएको छ । आज नेपालगंजमा आयोजित एक कार्यक्रममा मध्यपश्चिम क्षेत्रका जनस्वास्थ्य प्रमुखहरुलाई निर्देशन दिदै उहाँले अबका दिनमा स्वास्थ्य प्रकोपका कारण कसैलै ज्यान गुमाउन नपर्ने गरि सरकारले पूव सतर्कता रणनीति अर्न्तर्गत काम शुरु गरिसकेको जानकारी गराउनु भयो ।
स्वास्थ्य मन्त्री चौधरीले स्वास्थ्यचौकी र अस्पतालमा पर्याप्त औषधी तथा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गरिसकेको बताउदै जनताको स्वास्थ्य सेवा पाउने मौलिक हकको सुनिश्चितताका लागि सरकार गंम्भीर रहेको बताउनु भयो । यसैबीच, स्वास्थ्य मन्त्री चौधरीले नेपालगन्ज स्थित जिल्ला जनस्वास्थ्य कार्यालयको निरीक्षण गरि सो कार्यालय द्धारा संचालित गतिबिधिको जानकारी लिनु भएको छ । त्यस अवसरमा स्वास्थ्य मन्त्री चौधरीलाई कार्यालयका प्रमुख धिरजङ्ग शाहले जिल्लामा संचालित कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयले थप स्रोत र साधन उपलव्ध गराउनु पर्ने माग गर्नु भएको थियो । त्यस्तै नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष अंगत बहादुर शाहीले स्वास्थ्य मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । स्वास्थ्य मन्त्री चौधरी बाँकेको खजुरामा निर्माण भैरहेको क्यान्सर अस्पतालको निरिक्षण गरेर आजै बर्दियाका बिभीन्न कार्यक्रममा सहभागी हुन त्यस तर्फप्रस्तान गर्नु भएको छ